Believe in yourself

Sunday, December 09, 2018

सिद्धान्तकार इन्द्रबहादुर

साठीको दशकमा ‘एलाइट’ लेखकहरूको दार्जिलिङमा ठूलो प्रभुत्व थियो, जसले अंग्रेजी र नेपाली साहित्य पढ्ने मात्र होइन, सिद्धहस्त तरिकाले लेख्न पनि सक्थे । त्यो एलाइट समूहको नाइके थिए, स्वर्गीय इन्द्रबहादुर राई उर्फ आइबी सर।

उनका अनुयायी थिए, स्वर्गीय डा. कुमार प्रधान र स्व. राजनारायण प्रधान । उनीहरूको बौद्धिकतापूर्ण लेखहरूले दार्जिलिङको नेपाली साहित्यलाई नयाँ आयाम र उचाइ दियो । सालीन व्यक्तित्वको धनी आइबी सर प्रयोगधर्मी साहित्यकारका रूपमा चिनिन्छन्।

तेस्रो आयाम र लीलालेखनका प्रवद्धक आइबी सरको व्यक्तित्व ती दुवै साहित्यिक आन्दोलनभन्दा निकै माथि छ । सन् १९४५ मा १० कक्षा पढ्दादेखि नै कथा लेखन सुरु गरे पनि त्यसको १२ वर्षपछि मात्रै विपना कतिपय कथासंग्रहका कथा लेख्न सुरु गरे।

उनले विज्ञानका नवीनतम् सिद्धान्तदेखि नेपालीमा लेखिएको साधारण लेखहरूको समेत जानकारी राख्थे । २०४५ सालमा उनको घरमा पुग्दा मैले उनलाई किताबैकिताबबीच पाएको थिएँ । छरपस्टिएका किताबहरूमा मैले जे कृष्णमूर्तिदेखि जेन पल सात्रेको किताब देखेको थिएँ।

उनीसँगको छोटो भलाकुसारीमा पनि मैले अथाह ज्ञानको सागरभित्र डुबेको अनुभव गरेँ । सन् १९५५ को भारती पत्रिकामा छापिएको पूर्वी नेपाल तराईका धिमालहरू शीर्षक लेखले नै उनी समयभन्दा कति अघि थिए भन्ने कुराको पुष्टि गर्छ । तेस्रो आयामका त्रिमूर्तिमध्येका एक उनी आयामेली आन्दोलनका प्रणेता मात्र थिएनन्, वास्तवमा आयामेली आन्दोलनका धरोहर थिए । त्यसको वैचारिक व्याख्या गर्न सक्ने क्षमतावान् व्यक्तित्व पनि थिए । उनको सुरुवाती कथा लेखन समरसेटममबाट प्रेरित भए पनि तेस्रो आयामपछि कथा लेखनमा समकालीन र बहुविद् दृष्टि फ्याँकिएको छ।

घनवाद प्रवृत्तिमा उहाँका समकालीन साहित्यकार राजनारायण प्रधान लेख्छन्, ‘श्री इन्द्रबहादुर राई आधुनिक नेपाली साहित्यका निर्माताहरूमा अन्यतम छन्। साहित्यमा उनको योगदान एक कथाकारका रूपमा मात्रै होइन, तर नेपाली भाषालाई शक्तिले उजिल्याउनमा, त्यसलाई विशेष अभिव्यक्ति गाम्भीर्य प्रदान गर्नमा उनले जुन भगिरथ प्रयत्न गरेका छन् । त्यसका निम्ति भावी साहित्यकारहरू उनका ऋणी हुनेछन्।’

भारतको साहित्य एकेडेमीले भारतीय नेपाली साहित्यमा लेखेका पुस्तकलाई साहित्य एकेडेमी पुरस्कार दिने निर्णय गर्दा आइबी राईको नेपाली उपन्यासका आधारलाई पहिलो चयन गरेको थियो । यो पुस्तकले १२ वटा नेपाली साहित्यमा लेखिएको किताबलाई सिद्धान्तका आधारमा समालोचना गरेको छ । यो किताब नेपाली साहित्यको समालोचना विधामा मानकका रूपमा लिइएको छ ।

उनको समालोचनाबारे इतिहासकार तथा साहित्यकार डा. कुमार प्रधान लेख्छन्, ‘पाठकलाई यी समालोचनामा आकृष्ट गर्ने अर्काे वस्तु हुुन्छ राईज्यूको भाषा । टिपेका टिप्पणीमा प्रयुक्त भाषा रमणीय छ, तर यहाँ प्रयुक्त भाषा बहुपक्षी विचारसँगै परिपक्व र आयामिक छ । उहाँ पाठकलाई आफूसँग घोरिन लगाउनुहुन्छ । यस्तै भाषा प्रयोग भएर यहाँ शब्द–शब्दमा अलमलिँदै, त्यसलाई नियाल्दै त्यो शाब्दिक भूमि प्रदेशलाई अघि बढ्छौँ । यसरी नियाल्दा हामी आविष्कार गर्छाैं, अनेक स्थान उहाँको भाषा अनेकार्थी भएको।

शब्द, अर्थ, बाहुल्यको पाउँछौँ र प्रयुक्त भाषाले बोधका आयामहरू निर्देश गर्छ । दृष्टिकोण र भाषा प्रयोगको मौलिकतामा राईज्यूको आफ्नै समालोचना प्रणाली जन्मेको छ । नेपाली समालोचनालाई यो उहाँको देन हो ।’आइबी राईको लेखनमा आएको पहिलो ‘टर्निङ प्वाइन्ट’ तेस्रो आयाम हो भने दोस्रो लीलालेखन हो । तेस्रो आयामले उनलाई युवा अवस्थामा साहित्यिक ऊर्जा दिएको थियो।

तेस्रो आयाममा जस्तै लीलालेखनमा पनि सिद्धान्तमा मात्र नअडिएर कथामा पनि आफ्ना नयाँपन दिएका थिए । यसबारे आइबी सर लेख्छन्, ‘लीलादृष्टि आयामिक वस्तुता धारणाबाट बढेको छ । वस्तुमा विशेषणहरू देखिन्छ । सब मानव अनुभूत, मानव कथित, मानव कल्पित– सब मानवापेक्ष । मानिसका अनुभूति, बोध, चेत सब यसै लीला हुन्छन् :मानिसमा उम्रेका, मानिसको जिउनुले उम्रेका।’

आयामिक लेखनसम्बन्धी आइबी सरको एउटा लेख सन् १९६६ मा रूपरेखामा छापिएको थियो । उनी लेख्छन्, ‘सम्पूर्ण मानिसको एक प्रक्षेप हो, आधुनिक मानिस । आधुनिक मानिस एउटा व्यावहारिक परिचय, सम्पूर्ण मानिस दार्शनिक धारा हुन्छ।

व्यावहारिकतामा आधारित लेखनमा जीवन अनुभूति हुन्छ, त्यति नै प्रशस्त होइन । जीवन बुझिँदैन तर जीवनलाई पराभूत गर्न सकिन्छ । प्रत्येक कृति जीवनलाई पराभूत गर्न अभियान बन्छ । आधुनिक व्यक्ति चोक्टालाम्टा बनेको छ । खण्डित व्यक्तित्व भएको छ । तर, मानिस जुन सिंगो हो, सधैँ यस्तो रहँदैन, थिएन । आधुनिक व्यक्तिलाई लेख्न जानेका छौँ, कारण लेखिएका छन् । सम्पूर्णतालाई व्यावहारिकता उक्लनुपर्छ तर व्यावहारिकता त्यागेर सम्पूर्णता रहँदैन ।’

आइबी सरको अंग्रेजी भाषामा पनि त्यत्तिकै दख्खल थियो । साहित्य एकेडेमीले प्रकाशित गरेको प्राचि पत्रिकाको नेपाली भाषाबाट अंग्रेजीमा अनुवाद गरेका साहित्यिक कृतिमा उनी सम्पादक थिए । उनका कृतिहरू अंग्रेजीमा पनि अनुवाद भएर विश्व साहित्यमा मिसिन गएको छ । हुन त, उनको लेखनशैली शब्द संयोजन, विषयवस्तुको प्रस्तुतीकरणलाई अन्य भाषामा अनुवाद गर्न निकै कठिन भए पनि अनुवादकले यसलाई न्यायपूर्ण ढंगमा अंग्रेजीभाषामा अनुवाद गरेका छन्।

सन् २०११ मा आयोजना भएको नेपाल साहित्य महोत्सवका बेला आइबी सर प्रमुख वक्ताका रूपमा काठमाडौं आएका थिए । उक्त कार्यक्रममा उनको परिचय दिने अभिभारा मैले पाएको थिएँ । सो कार्यक्रममा उनले करिब डेढ घन्टा प्रवचन दिएर सबैलाई मन्त्रमुग्ध गरेका थिए।

पाश्चात्य साहित्य र दर्शन र नेपाली साहित्यबारे उनले दिएको लामो व्याख्यानले सबैलाई आश्चर्यचकित गरेको थियो । उनको साहित्य, संगीत, दर्शन, चित्रकलासम्बन्धीको ज्ञानले सहभागीलाई चकित पारेको थियो ।आइबी राई पूर्वीय र पश्चिमेली साहित्य र दर्शनका संगम हुन् । उनले पहाड र खोला किताबमा झाँक्रीदेखि छोरा र छोरीमा कुन राम्रो भन्ने सम्बन्धमा लेखेका थिए।

उनको अधिकांश जीवन दार्जिलिङको सेरोफेरोमै बिते पनि २०१० सालतिर नेपालको इलामको कर्फोकमा दुई वर्षजति शिक्षकका रूपमा बिताएका थिए। नेपालमा बिताएको दुई वर्षको अनुभव ‘आज रमिता छ’ भन्ने उपन्यासमा प्रतिविम्बित भएको छ । नेपाली जनजीवनलाई टपक्क टिपेर लेख्न सक्ने क्षमता भएका लेखक नेपाली साहित्यमा धेरै कम छन् । नेपालबाहिर बसेर पनि नेपाली साहित्यलाई धनी बनाउने काममा उनी निरन्तर गरिरहे।

उनी नेपाल र नेपालबाहिर लेखिने साहित्यको एक सेतु थिए । उनले नेपाली समाजमा व्याप्त विकृतिलाई पनि नजिकबाटै नियालेका छन् । समाज हेर साहित्य नामक लेखमा उनी लेख्छन्, ‘अनाचार, दुराचार, भ्रष्टाचार, पापाचार अझ के के भनौँ साह्रै नै बढ्दै नै गएको नेपाल समाज भएको छ हाम्रो आज । व्यक्तिहरू बिग्रेका, परिवारहरू बिग्रेका, संख्याहरू बिग्रेका, दलहरू बिग्रेका देख्छौँ हाम्रा जताततै । निर्लज्ज पैसा र पदका पछि लागेका अनुकरण, देखाऊ र मोजमज्जा जीवनका लक्ष्य बनेका।

समाज र जाति अब बिर्सिसकेका जस्ता छन्। ...साहित्यिक आफ्ना अध्ययन, मनन र चिन्तनले लेखनमा कहाँ माथि पुगेका हुन्छन् । उच्च, उच्चतर लेखन गर्दै नै जाऊन्, हामी त्यो चाहन्छौँ । तर, हेरिदिनुस् समाजलाई पनि, हामीहरू बसिरहेको यस समाजलाई । लेखौँ समाज हेर साहित्य पनि।’
(शनिबार, २६ फागुन २०७४, ०८ : १५ नागरिक )

0 Comments:

Post a Comment

<< Home